Sagun Khabar
एमाले बैतडीको इञ्चार्जमा लिलाधर भट्ट, सुदूरका अन्य जिल्लामा को–को ?

बैतडी–नेकपा(एमाले) बैतडीको जिल्ला इन्चार्जमा लिलाधर भट्ट चयन भएका छन् । एमालेको बिहीबारको निर्णय अनुसार केन्द्रीय सदस्य भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो । 

विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका भट्ट २०४८ सालमा प्रवासी नेपाली संघमा आवद्ध रहेका थिए । २०४९ देखि २०५१ सम्म उनी प्रवासी नेपाली संघको नगर सचिव, २०५१मा पार्टी सदस्यता प्राप्त गरेपछि नगर कमिटि सदस्य, २०५२ देखि ०५४ सम्म उत्तर प्रदेशको राज्य कमिटि सदस्य, २०५४मा अभानेस्ववियुको केन्द्रीय कमिटि सदस्य भएका उनी २०५५मा नेपाल फिर्ता भएका थिए । 

Atrya hospital

२०५५ सालमा एमालेको जिल्ला कमिटि सदस्य भएका भट्ट २०५७ सालमा अनेरास्ववियुको महाकाली अञ्चल सचिव बनेका थिए । २०६६ सालदेखि २०६८ सम्म एमालेको यूवा संगठन युवा संघको सुदूरपश्चिम इञ्चार्ज भएर उनले काम गरेका थिए । 

भट्टले २०६८ देखि २०७५ सम्म एमाले बैतडीको सचिव भएर काम गरेका थिए भने २०७८ देखि हालसम्म उनी केन्द्रीय सदस्यको रुपमा काम गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित समेत भएका थिए । 

पार्टीले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक निर्वाह गर्ने इञ्चार्ज भट्टले बताए । पार्टी इञ्चार्जको भूमिकामा रहँदा सबैको सहयोग प्राप्त हुने उनले विश्वास समेत व्यक्त गरेका छन् । 

यस्तै एमालेले कैलालीको इन्चार्जमा नारदमुनी राना, कञ्चनपुरमा  नीरुदेवी पाल, बाजुरामा लालबहादुर थापा, डोटीमा गौरी ओली, बझाङमा भैरवबहादुर सिंह, अछाममा झपट बोहरा, दार्चुलामा गणेशसिंह ठगुन्ना र डडेल्धुरामा पठानसिंह बोहरालाई इन्चार्जको जिम्मेवारी तोकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update