Sagun Khabar
कांग्रेसको बैतडी–काठमाण्डौं सम्पर्क समितिमा किचलो, समानान्तर समिति गठन 

बैतडी –नेपाली कांग्रेसको बैतडी–काठमाडौं सम्पर्क समितिमा किचलो देखिएको छ । साउन १२ गते भानबहादुर चन्द(भास्कर)को अध्यक्षतामा सम्पर्क समिति गठन भएपनि असन्तुष्ट समूहले दिवाकर बोहारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

बिहिबार गठन गरिएको समानान्तर समितिको उपाध्यक्षमा नगेन्द्र भट्ट र ई. महादेव साउँद चयन भएका छन् । यस्तै सचिवमा महेशबहादुर बोहरा र दिनेशप्रसाद भट्ट, सहसचिवमा हेमन्त नेगी, सहसचिवमा हरिकृष्ण जोशी र कोषाध्यक्षमा धनबहादुर बोहरा रहेका छन् । 

Atrya hospital

यस्तै समितिको सदस्यहरुमा अमृत केसी, हेमराज जोशी, सरस्वती कार्की, मनोज चन्द, मोहनसिंह धामी, यज्ञराज अवस्थी, यज्ञराज पाण्डे र सरस्वतीकुमारी धामी रहेका छन् ।

यता नेपाली कांग्रेस बैतडीले भने आफूखुुसी विधान विपरीत समिति गठन नगर्न चेतावनी दिएको छ । नेपाली कांग्रेस बैतडीका अनुशासन समिति संयोजक समेत रहेका सचिव देवराज जोशीले पार्टीको विधान अनुसार भानबहादुर चन्दको अध्यक्षतामा सम्पर्क समिति गठन गरिएको र उक्त समिति नै आधिकारिक भएको बताएका छन् । 

पार्टीको विधान विपरीत गठन भएका समितिहरुको कुनै आधिकारिता नभएको सचिव जोशीले दाबी गरे । पार्टीको अनुशासन विपरीत जानेहरुलाई कारवाही समेत गरिने उनले चेतावनी दिएका छन् । 

असन्तुष्ट समूहले भने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले एकलौटी रुपमा समिति गठन गरेको आरोप लगाएका छन् । 

साउन १२ गते सम्पर्क समिति गठन कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, सम्पर्क समितिका निवर्तमान अध्यक्ष दिनेश भट्ट लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 

बिहिबार गठन भएको नयाँ समितिको अधिवेशनमा भने महासमिति सदस्य उत्तरबहादुर ऐर, पूर्व जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय, नेविसंघका केन्द्रीय सदस्य कपील केसी लगायतका नेताहरुको सहभागिता रहेको थियो । 
पछिल्लो समयमा नेपाली कांग्रेस बैतडीभित्र विवाद चर्किदै गएको छ । केही दिन अगाडि नेविसंघको जिल्ला कार्यसमिति समेत समानन्तर रुपमा गठन गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update