Sagun Khabar
धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलियो, तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह

बैतडी- भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले शनिबार (आज) बिहान ८ः १५ बजे बाँध खोलेको हो । यसअघि एनएचपिसी लिमिटेडले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ बेलुका ६ बजेसम्म बाँध  खोलेको थियो । सीमा क्षेत्रमा रहेका नेपालका जिल्ला प्रशासनहरुले सूचना निकालेर आईतबार (भोली) सम्म महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदी किनारका बासिन्दाहरुलाई नदी नजिक नजान आग्रह गरेको छ । 

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपाउन र नदी किनारमा नजान आग्रह गरेको छ ।  धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update