Sagun Khabar
राजस्व संकलनमा लक्ष्य उछिन्यो महाकाली भन्सार कार्यालयले 

बैतडी–बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८०÷८१ मा राजस्व संकलनको लक्ष्य उछिनेको छ । कार्यालयले गत आर्थिक बर्षमा लक्ष्य भन्दा ३५ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको लेखापाल देवराज रानाले बताए । 

महाकाली भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८०÷०८१ मा  ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्षमा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा ३५ लाख ९५ हजार ९० रुपैयाँ बढी राजस्व संकलन भएको बताइएको छ । 

Atrya hospital

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो । 

पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैयाँ, मूल्य अभिवृद्धि करबाट २१ लाख ७२ हजार ९ सय ५ रुपैयाँ, भन्सार सेवा दस्तुरबाट १ लाख ८० हजार रुपैयाँ र अन्तशुल्कबाट २५ हजार ९ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको झाले जानकारी दिए ।

विगतका बर्षहरुमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्ने महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक बर्षमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयाँमात्रै संकलन भएको थियो । 

भन्सार क्षेत्रमा गरिएको कडाई, आयातमा वृद्धि लगायतका कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयले जनाएको छ । 

यो नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ । झुलाघाट नाकाबाट निर्यात भने प्रायः शून्यकै अवस्था रहेको कार्यालय प्रमुख झाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update