Sagun Khabar
मेलौलीमा जहिल्यै खानेपानीको समस्या 

बैतडी–बैतडीको मेलौली नगरपालिकाको काँडा बजारमा बाह्रैमास खानेपानीको समस्या हुने गरेको छ । बर्खायाममा समेत खानेपानीको जोहो गर्न निकै मुस्किल हुने गरेको काँडा बजारका स्थानीय बासिन्दाहरुले बताएका छन् ।

साउने झरीमा समेत खानेपानीका लागि पालो कुनुपर्ने बाध्यता रही आएको स्थानीयहरुले बताएका छन् । खानेपानी नहुँदा मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला आयुर्वेद औषधालय, मणिलेक नमूना मावि र मणिलेक बहुमुखी क्याम्पस लगायतमा समेत समस्या रहेको छ । 

पानीको अभावमा मणिलेक माविमा शौचालय सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्याप देवदत्त कलौनीले बताए । करीब ९ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पानीको अभावमा शौचालयहरु बन्द गर्नुपर्ने अवस्था रही आएको उनले बताए । पुरानो ग्वाल्लेक मणिलेक खानेपानी योजनाबाट आएको पानी पार्याप्त नहुँदा अन्यत्रबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रही आएको प्रधानाध्यापक कलौनीले बताए । उनले भने ‘हामीले आकाशे पानी संकलन पनि गर्ने गरेका छौं । तर पनि पार्याप्त हुन सकेको छैन् । बर्षौंदेखि विद्यालयले खानेपानीको समस्या झेलीरहेको छ ।’

Atrya hospital

उच्च शिक्षा अध्ययनका लागि मणिलेक बहुमुखी क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुलाई समेत खानेपानीकै चिन्ताले सताउने गरेको उपप्राध्यापक भीमसिंह धामीले बताए । बजारमा डेरा गरेर बस्ने उनीहरुलाई खानेपानीकै जोहो गर्न मुस्किल भएको उनले बताए । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा बाह्रैमास पानीकै अभाव झेल्नुपर्ने अवस्था रही आएको जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । स्वास्थ्यको मापदण्ड अनुसार पार्याप्त पानी नहुँदा सेवा सञ्चालनमा समस्या हुने गरेको उनले बताए । 

मेलौली नगरपालिकाको प्रमुख बजारको रुपमा रहेको काँडा बजार पछिल्लो समयमा विस्तार हुँदै गएको छ । जनसंख्या बढ्दै गएको र पानीको अभाव चुलिँदै गएको स्थानीय व्यापारीहरुले बताएका छन् । 

१४ किलोमिटर टाढा रहेको ग्वाल्लेक मूहानबाट मेलौलीको काँडा बजारमा खानेपानी पुर्याइएको छ । पुरानो तथा जीर्ण योजना भएका कारण पानीको आपूर्ती हरेक बर्ष कम हुँदै गएको छ । बर्षातको समयमा समेत काँडा बजारमा खानेपानीको हाहाकार रहेको स्थानीय व्यापारी श्रवणसिंह ठगुन्नाले बताए । 

मेलौलीमा सरकारका मन्त्री, सांसदहरु पुग्दा स्थानीयहरुले खानेपानीकै समस्या राख्ने गरेका छन् । तर अहिले सम्म समस्या समाधान नभएको स्थानीय भोजराज भट्टले बताए । 

मेलौलीको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक बर्षमा संघीय सरकारले दुई करोड बजेट विनियोजन गरेको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । आफूहरुले अल्पकालीन र दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधानका लागि प्रयास गरिरहेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update