Sagun Khabar
पाटनमा सेफ हाउसको आफ्नै भवन, नगरपालिकाले लियो सञ्चालनको जिम्मा 

बैतडी–बैतडीको पाटनमा महिला सुरक्षित आवास गृह(सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ । गत आर्थिक बर्षमा संघीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । सम्झौता अनुसार भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको निर्माण व्यवसायीय दिनेश लामिछानेले बताए । 

Atrya hospital

गएको सोमबार उक्त भवनको विधिवत रुपमा उद्दघाटन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

निर्माण व्यवसायीले भवन निर्माण गरेर पालिकालाई हस्तान्तरण गरेसंगै सेफ हाउसका सम्पूर्ण सेवाहरु आफ्नै भवनबाट शुरु गरिएको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताइन् । यसअघि भाडाको भवनबाट सेवा दिँदै आएकोमा सेफ हाउसको आफ्नै भवन भएपछि सहज भएको उनले बताइन् । 

पाटन नगरपालिकाको अगुवाईमै सेफ हाउसको भवन निर्माण भएपछि सञ्चालनको जिम्मा समेत नगरपालिकाले लिएको छ । चालु आर्थिक बर्षदेखि सेफ हाउस सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको मनोविमर्शकर्ता भट्टले बताइन् । यसअघि सहस्त्रलिङ्ग सामुदायिक संस्थाले व्यवस्थापनको काम गरिरहेको थियो । 

बैतडीको पाटनमा २०७३ साल भदौदेखि महिला सुरक्षित आवास गृह सञ्चालनमा रहेको छ । सेफ हाउस सञ्चालन भएको ७ बर्षपछि आफ्नै भवन निर्माण गर्न सफल भएको मनोविमर्शकर्ता भट्टले बताइन् । 

सेफ हाउस सञ्चालन तथा व्यवस्थापनमा साथी नामक संस्थाले समेत सहयोग गर्दै आइरहेको छ । सेफ हाउसमा अहिले हिंसा प्रभावित चार जना महिलाले सेवा लिइरहेका छन् । उनीहरुसंगै तीन जना बालबालिकाहरु समेत रहेका बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update