Sagun Khabar
सुदूरपश्चिममा एक वर्षमा विपद्का घटनाबाट ४७ जनाको मृत्यु 

बैतडी –एक बर्षको अवधिमा सुदूरपश्चिममा विभिन्न विपद्का घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्षमा विपद्का घटनामा परेर २३ पुरुष र २४ महिला गरी ४७ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

केन्द्रले जारी गरेको विवरण अनुसार एक बर्षमा आगलागीबाट ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको छ । प्रदेशभरी भएका २ सय ६७ आगलागीका घटनामा परेर २९ जना घाइते भएका छन् भने १२ करोड १० लाख रुपैयाँ बराबरको क्षतिको भएको विवरणमा उल्लेख गरिएको छ । 

Atrya hospital

एक बर्षको अवधिमा सर्पको टोकाइबाट चार पुरुष र चार महिला गरी ८ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । 

यस्तै, चट्याङ र हावाहुरीमा परी एक वर्षको अवधिमा सात पुरुष र सात महिला गरी १४ जनाको मृत्यु भएको छ । प्रदेशभरी एक बर्षमा भएका ८१ ओटा चट्याङ र हावाहुरीका घटनामा परी ६० जना घाइते भएका प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

गत आर्थिक बर्षमा बाढी र पहिरोमा परेर प्रदेशभरी सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

यस्तै जंगली जनावरको आक्रमणबाट चार जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् । यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको केन्द्रले जनाएको छ । गत आर्थिक बर्षमा प्रदेशका विभिन्न जिल्ला केन्द्रबिन्दु बनाएर ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएका प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख गरिएको छ । 

यस अवधिमा विपद्का बिभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रुपमा क्षति भएका छन् । यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ ।

विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस प्रदेशमा विपद्का सवै घटनाबाट एक वर्षको अवधीमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update