Sagun Khabar
त्रिपुरासुन्दरी भगवती मन्दिरमा  ‘अषाढी जात’को रौनक 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा ‘अषाढी जात’को रौनक छाएको छ । हरेक बर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथीमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय गणेशसिंह थापाले बताए । 

असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौं दिनमा जात्रा शुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुने उनले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा तिथी घटबढको प्रभाव नपर्ने उनले बताए । 

‘अषाढी जात’मा पनि दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको थापाले बताए । असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन रही आएको छ । 

Atrya hospital

नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रही आएको छ । असार शुक्ल नवमीको साँझ भण्डार घरमा भण्डार पुर्याएपछि जात्रा समापन हुने गरेको थापाले बताए । 

त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । भारतको झुलाघाट, पिथौरागढ लगायतका क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि दर्शनार्थीहरु नेपाल पुग्ने गरेको भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । उनले भने ‘त्रिपुरासुन्दरी भगवतीको दर्शनका लागि भारतीय दर्शनार्थीहरु हरेक जात्रामा पुग्ने गरेका छन् । यसले सीमा क्षेत्रमा सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याएको छ ।’

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुने गरेको छ । 

यस्तै असोजको नवरात्र र चैतै दशैंमा पनि मन्दिरमा पूजाआजासहितको जात्रा हुने गरेको थापाले बताए । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयहरुले रणशैनी भगवतीको रुपमा पुर्काने गरेको थापाले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने आषाढी जातमा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुगेका स्थानीय आनन्दमणी भट्टले बताए । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 


 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update