Sagun Khabar
बैतडीको पञ्चेश्वरमा चारओटा बर्थिङ सेन्टर बन्द गरिए 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाभित्र सञ्चालनमा रहेका चारओटा बर्थिङ सेन्टरहरु बन्द गरिएका छन् । स्वास्थ्यचौकी बाहिर सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरु बन्द गरिएका हुन् । 

बजेटको अभाव भएको भन्दै बर्थिङ सेन्टरहरु बन्द गरिएका पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताए । स्वास्थ्य क्षेत्रको बजेटमा कटौती भएकाले बर्थिङ सेन्टरहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । 

स्वास्थ्य क्षेत्रको बजेट ३३ लाखबाट घटेर २० लाखमा झरेको र बजेटको अभावमा बर्थिङ सेन्टरहरु सञ्चालनमा समस्या आएको उनले बताए । ६ ओटा स्वास्थ्यचौकी बाहेक चार ठाउँमा थप बर्थिङ सेन्टरहरु सञ्चालनमा रहेका थिए । 

Atrya hospital

स्वास्थ्यचौकी बाहिरका बर्थिङ सेन्टरमा कम्तीमा एक ठाउँमा दुई जना अनमी र एक जना स्वीपर राख्नुपर्ने तर बजेटको अभाव हुँदा समस्या भएको शाहको भनाइ छ । 

पञ्चेश्वरका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले समस्यामा परेका आमाहरुलाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याइने शाहले दाबी गरे । उनले भने ‘हाम्रो पालिकामा स्वास्थ्यचौकी बाहिर चारओटा बर्थिङ सेन्टर सञ्चालनमा थिए । कतिपयमा सेवाग्राही नआएको देखिएको छ । सबै ठाउँमा सडक पुगिसकेको र स्वास्थ्यचौकी सम्म गर्भवती आमाहरुलाई पुर्याउन एम्बुलेन्सको प्रयोग गर्न सकिने भएकाले हामीले बर्थिङ सेन्टर बन्द गर्ने निर्णय गरेका हौं ।’

गाउँपालिकाको स्वास्थ्य शाखाले बजेटको अभाव भएको भन्दै पत्र काटेर बर्थिङ सेन्टर बन्द गर्न भनेको छ । बर्थिङ सेन्टरमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको छ । 

पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नं १ मा रहेका चारओटा बर्थिङ सेन्टरहरु बन्द गरिएका हुन् । 

गाउँपालिकाले बर्थिङ सेन्टर बन्द गर्ने निर्णय गरेपछि स्थानीयबासिन्दाहरु भने आक्रोशित भएका छन् । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा पालिकाले खेलवाड गरेको स्थानीयहरुको आक्रोश रही आएको छ । स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने ठाउँमा बर्थिङ सेन्टर बन्द गर्नु निकै दुखद भएको स्थानीय जयबहादुर चन्दले बताए । 

स्वास्थ्यचौकीबाट टाढा रहेका सेवाग्राहीहरुलाई समस्या हुने उनले बताए । स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीका आमाहरुलाई सुरक्षित प्रसूती सेवा दिनका बर्थिङ सेन्टर सञ्चालन गरिएका र तर ती बर्थिङ सेन्टरहरु बन्द भएपछि समस्या हुने उनले बताए । 

यता गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सबै वडामा सडकको पहुँच पुगिसकेकाले बर्थिङ सेन्टर बन्द हुँदा समस्या नहुने बताए । गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने उनले बताए । बजेटको अभावले जनशक्ति खटाउन नसकिने अवस्था आएकाले स्वास्थ्य शाखाले बर्थिङ सेन्टर बन्द गर्न भनेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update