Sagun Khabar
बाढीले विस्थापित बैतडीको ढुंगाडका बासिन्दा घर फर्किए 

बैतडी–गएको शुक्रबारदेखि सोमबारसम्म परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले विस्थापित भएका बैतडीको ढुंगाडका स्थानीय घर फर्किएका छन् । 

सेती नदी किनारमा बसोबास गर्दै आएका ढुंगाडका स्थानीयहरु नदीमा पानीको बहाव बढेपछि घर छोडेर स्थानीय शारदा माविमा आश्रय लिएर बसेका थिए । बर्षा रोकिएसंगै सेती नदीमा पानीको बहाव कम भएपछि ढुंगाडका ७० परिवार आफ्नो घर फर्किसकेका सिगास गाउँपालिका वडा नं ५का वडा अध्यक्ष राजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

Atrya hospital

बर्षा रोकिएसंगै सेतीमा पानीको बहाव कम भएको र विस्थापित भएकाहरु घर फर्किसकेका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने ‘सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते  ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।’

हरेक बर्षको बर्षातको समयमा सेती नदीमा आउने बाढीले ढुंगाडका बासिन्दाहरुलाई त्रसित बनाउने गरेको छ । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे र सिगास– ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको स्थानीय शिक्षक इन्द्रबहादुर चन्दले बताए । 

यसअघि २०७८ कातिर्क पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update