Sagun Khabar
दशरथचन्द नगरपालिका–५ को सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालयले बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 

चालु आर्थिक बर्ष २०८०÷८१ मा वडा कार्यालयमार्फत सञ्चालन भएका योजना र सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने उद्देश्यसहित सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । 

दशरथचन्द नगरपालिका वडा नं ५ को आयोजना र रेडियो निङ्गलाशैनीको सहजीकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा वडाका जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको वडा अध्यक्ष केशवराज लेखकले जवाफ दिएका थिए । चालु आर्थिक बर्षमा वडा कार्यालयमार्फत विभिन्न योजनाहरु सम्पन्न भएको बताउँदै वडा अध्यक्ष लेखकले सीमित बजेटका कारण नागरिकका आकांक्षा पूरा गर्न गाह्रो भएको बताए । 

उनले वडा कार्यालयले चालु आर्थिक बर्षमा विकास निर्माणका साथै क्षमता अभिवृद्धिका कामहरु सञ्चालन गरेको उनले बताए । बजेट अनुसार वडाका अधिकांश नागरिकलाई लाभान्वित हुने खालका कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष लेखकले बताए । 

महिला लक्षित कार्यक्रम अन्तर्गत वडाबाट १२ ओटा आमा समूहमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सचेतनामूलक छलफल चलाएको वडा सदस्य नन्दा भट्टले बताइन् । 

वडा नं ५ स्थित दशरथचन्द स्वास्थ्यचौकीमा सुत्केरी हुन आउने आमाहरुलाई वडाको तर्फबाट थप २ हजार ६ सय प्रोत्साहन भत्ता वितरण गरिएको वडा अध्यक्ष लेखकले बताए । घरमा हुने सुत्केरी शून्य अभियान अन्तर्गत प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात भत्ता, दलित समुदायका नागरिकका लागि लक्षित कार्यक्रम समेत सञ्चालन गरिएको वडा सदस्य रीता धानीक लुहारले बताइन् । 

वडाका नागरिकहरुका समस्यालाई ध्यान राखेर वडा कार्यसमितिले काम गरेको वडा सदस्य महेशराज जोशीले बताए । 

वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि वडाले पहल गरेको अर्का वडा सदस्य ग्रीसप्रसाद भट्टले बताए । 

वडामा सञ्चालनमा रहेका विद्यालयहरुको शैक्षिक र भौतिक व्यवस्थापनमा ध्यान दिनुपर्ने, आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने दशरथचन्द माविका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

वडा कार्यालयले पारदर्शीता, जवाफदेहिता र सुशासनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरेको भन्दै सहभागीहरुले प्रशंसा समेत गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update