Sagun Khabar
पकेट क्षेत्रमै मकै उत्पादनमा कमी आउने चिन्ता 

बैतडी–बैतडीमा यो बर्ष मकै उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्न थालिएको छ । शुक्रबारदेखि सोमबार सम्म परेको अविरल बर्षाले मकै पकेट क्षेत्रमै क्षति पुर्याएकाले मकैको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । 

मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएका सुर्नया, दशरथचन्द, पुर्चौंडी लगायतका क्षेत्रमा हावाहुरीसहितको बर्षाले क्षति पुर्याएको सुर्नया ८ सेलाका रामबहादुर साउँदले बताए । चार दिनको बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको उनले बताए । 

Atrya hospital

चार दिन परेको अविरल बर्षासंगैको हावाहुरीले दशरथचन्द नगरपालिका वडा नं १ र २ का विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको दशरथचन्द नगरपालिका १ का किसान बिरबहादुर टेरले बताए । उनले भने ‘यो बर्ष मकै उत्पादनमा कमी आउने अनुमान गरेका छौं । बर्षाका कारण घोगा लाग्न लागेको मकै सबै ढलेर नष्ट भएको छ । बारीमा मकै ढलेर सोत्तर भएका छन् ।’

घोगा लाग्ने बेला मकै ढलेपछि किसानहरु चिन्तित बनेका छन् । यो बर्ष मकैको उत्पादनमा कमी आउने दशरथचन्द नगरपालिका २ का दिपेन्द्र बोहराले बताए । चारदिनको लगातार बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको उनले बताए । उनले भने ‘हावाहुरीसहितको बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको छ । यसले गर्दा मकै उत्पादनमा कमी आउने देखिएको छ ।’

पछिल्ला बर्षहरुमा मकै उत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको छ । १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएकोमा पछिल्लो कृषि गणना अनुसार मकै खेती हुने क्षेत्रफल १० हजार ५६० हेक्टर रहेको छ । 
लगातारको बसाइसराई र किसानहरु अन्य खेतीमा लागेका कारण मकै खेती गर्ने क्षेत्रफल घटेको हुन सक्ने कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update