Sagun Khabar
धौलीगंगा बाँध पुनः खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

बैतडी–भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोलिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

Atrya hospital

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भन्दै दार्चुला प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

यस्तै बाँध खोलेको समयमा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले पनि आग्रह गरेको छ । बाँध खोलेको बेला महाकाली किनारमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

भारतले बर्षातको समयमा सफाइ गर्ने भन्दै बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो । 

परियोजनाको सिल्ट सरसफाइका लागि धौलीगंगा पावर स्टेशनले यो बर्ष दोश्रो पटक बाँध खोल्न लागेको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update