Sagun Khabar
बाढी,डुबान र पहिरोमा परी सुदूरपश्चिममा ५ जनाको मृत्यु, दुई जना बेपत्ता 

बैतडी –शुक्रबारदेखि सोमबारसम्म लगातार भएको बर्षाका कारण आएको बाढी, डुबान र पहिरोमा परी सुदूरपश्चिममा पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव फेला परेको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

Atrya hospital

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ । 

कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौधर  नदीमा डुबेर बेपत्ता भएका छन् । 

डडेलधुराको परशुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो । 

वर्षासँगैको बाढी र डुबानले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलडाँडी, कैलालीको भजनी र जोशीपुर क्षेत्र बढी प्रभावित भएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिए । 

डुबानमा फसेकालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । दुवै जिल्लामा डुबानबाट छ सय ४० परिवार प्रभावित भएका छन् ।  प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर, शिवनाथ र दशरथचन्द नगरपालिकामा गरी चार परिवारको घर भत्किएर क्षति पुगेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update