Sagun Khabar
चार दिनको बर्षाले बैतडीका तीन घरमा क्षति

बैतडी–शुक्रबारदेखि सोमबारसम्म लगातार भएको बर्षाका कारण बैतडीका ३ घरमा क्षति भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ बुङ्गाका जगत लुहारको २ तले १४ कोठे घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

सोमबार बिहान साढे ९ बजेतिर घर पछाडीबाट खसेको पहिरोका कारण जगत लुहारका छोरा पदम लुहार बस्दै आएको चारकोठा पूर्ण रुपमा क्षति भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । पहिरोको जोखिम कायमै रहेकाले उक्त घरमा बसोबास गर्ने चार परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

Atrya hospital

स्थानीय सचेत सामुदायिक संस्थाको भवनमा प्रभावित परिवारलाई स्थानान्तरण गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । 
यस्तै घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित भएको छ । शिवनाथ गाउँपालिका १ बण्डका भानसिंह साउँदको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुर्याएको हो । 

आइतबार बिहान खसेको पहिरोले साउँदको दुईतले कच्ची घरमा क्षति पुर्याएको छ भने भान्छा घर र गोठ पुरेको छ । 

घरको छतमा पहिरोसहित रुख खसेपछि अहिले भानसिंहको परिवार छिमेकी देवानसिंह साउँदको घरमा आश्रय लिएर बसीरहेको शारदा मावि मटेलाका शिक्षक दिपकसिंह साउँदले बताए । 

साउँदको घरमा भएको सबै सरसामान र पशुचौपायालाई छिमेकीकै घरमा लगिएको उनले बताए । घरमाथिबाट पहिरो खसेकाले जोखिम बढेपछि साउँदको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको हो ।

यसैगरी दशरथचन्द नगरपालिका ३ बर्कोलीका राम नाथको घरमा पनि बर्षाका कारण क्षति पुगेको छ । बर्षाका कारण उनको २ तले कच्ची घर भत्किएर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
नाथ परिवार अर्को घरमा बसीरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update