Sagun Khabar
बैतडीमा बर्षाका कारण दुई घरमा क्षति, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारियो 

बैतडी–लगातारको बर्षाका कारण दुई घरमा क्षति पुगेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ बुङ्गाका जगत लुहारको २ तले १४ कोठे भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

सोमबार बिहान साढे ९ बजेतिर घर पछाडीबाट खसेको पहिरोका कारण जगत लुहारका छोरा पदम लुहार बस्दै आएको चारकोठा पूर्ण रुपमा क्षति भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । पहिरोको जोखिम कायमै रहेकाले उक्त घरमा बसोबास गर्ने चार परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

Atrya hospital

स्थानीय सचेत सामुदायिक संस्थाको भवनमा प्रभावित परिवारलाई स्थानान्तरण गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । 
यस्तै दशरथचन्द नगरपालिका ३ बर्कोलीका राम नाथको घरमा पनि बर्षाका कारण क्षति पुगेको छ । बर्षाका कारण उनको २ तले कच्ची घर भत्किएर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

नाथ परिवार अर्को घरमा बसीरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

यस्तै लगातारको बर्षाले बैतडीमा एक गोठ भत्केको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ बबेतका धनबहादुर ओडको बाख्रा बाँधेको गोठ भत्किएको हो । 

गोठमाथिबाट खसेको पहिरोका कारण गोठ भत्किएको र एक बाख्रा मरेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

आइतबार साँझ साढे ६ बजेतिर गोठमाथिबाट खसेको पहिरोले गोठमा क्षति पुर्याएको हो । गोठमा बाँधेका अरु बाख्रालाई भने सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update