Sagun Khabar
बालविवाह न्यूनीकरणका लागि बैतडीका अभिभावक जागरुक हुँदै 

बैतडी –बालविवाह न्यूनीकरणका लागि बैतडीका अभिभावक जागरुक हुन थालेका छन् । पहिला पहिला बालविवाह गराउन अग्रसर हुने अभिभावक हिजोआज २० बर्षपछि मात्रै विवाह गर्नुपर्छ भन्ने कुरा भन्न थालेका छन् । ‘पहिला पहिला गाउँमै बालविवाह हुन्थ्यो । धेरै जसो मागेर सानै उमेरमा विवाह गर्ने चलन थियो । तर अहिले धेरै कुरा फेरिएको छ । विवाह हैन छोरीहरुलाई पनि राम्रो शिक्षा दिनुपर्छ भन्ने कुराको ज्ञान हुन थालेको छ ।’दोगडाकेदार गाउँपालिका ३ सिल्लका हिम्मत बिष्टले भने, ‘बालविवाहले पार्ने नकारात्मक असरका बारेमा अभिभावकहरु पनि सचेत भएपछि अहिले बालविवाह कम भएको छ ।’

पछिल्लो समयमा किशोरीहरुको पनि शिक्षामा पहुँच बढ्दै गएकाले बालविवाह कम हुन थालेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बल्देव नाथले बताए । उनले भने ‘मानिसलाई हरेक क्षेत्रमा रुपान्तरण गर्ने माध्यम शिक्षा हो । अहिले किशोरीहरुको शिक्षा पनि पहुँच बढ्न थालेको छ । अभिभावक पनि जानकार हुन थालेका छन् । यसले गर्दा बालविवाह रोकिएको छ ।’

Atrya hospital

बालविवाहले पार्ने असरका बारेमा थाहा भएपछि अहिले गाउँमा मागेर हुने बालविवाह रोकिएको दोगडाकेदार गाउँपालिका ३ सिल्लका बीरबहादुर चन्दले बताए । उनले भने ‘अहिले भागेर जाने भईरहेको छ । यसलाई रोक्न केही चुनौती छ तर मागेर हुने बालविवाह रोकिएको छ ।’

बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरुले पनि थाहा पाएपछि अहिले अभिभावकहरु आँफै बालविवाह न्यूनीकरण अभियानमा लागेका दोगडाकेदारका हरिना चन्दले बताइन् । 

बालविवाह न्यूनीकरणका लागि बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले रुपान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रम मार्फत किशोरकिशोरी र अभिभावकहरुलाई बालविवाह न्यूनीकरणका बिषयमा जानकारी दिने गरिएको रेडक्रसका कार्यक्रम संयोजक कमलापति भट्टले बताए । 

बालविवाह न्यूनीकरणका लागि जिल्लामा सञ्चालन भएको रुपान्तरण कार्यक्रमले सहयोग पुर्याएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने ‘२० बर्ष मुनिको विवाह गैरकानुनी हो भन्ने बिषयमा अभिभावकहरुलाई पनि जानकारी हुन थालेको छ । यसले गर्दा बालविवाह न्यूनीकरणमा सहयोग पुगेको छ ।’

अभिभावकहरुका लागि तालिम 
बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन अभिभावकहरुका लागि तालिम समेत सञ्चालन गरिएको छ । रुपान्तरण कार्यक्रम अन्तर्गत मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तालिम सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

सोही कार्यक्रम अन्तर्गत शुक्रबारदेखि दोगडाकेदार गाउँपालिका वडा नं ३ का अभिभावकहरुका लागि तालिम सञ्चालन गरिएको छ । तालिमका सहभागीहरुले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीन दिन सम्म सञ्चालन हुने तालिममा बालविवाहले पार्ने असरका बिषयमा केन्द्रित भएर छलफल हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०६:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update