Sagun Khabar
बिरभान हत्या प्रकरण : आरोपित  पुर्पक्षका लागि कारागार चलान 

बैतडी –बैतडीको पाटन नगरपालिका–६ का ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

आईतबार जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका आरोपीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

Atrya hospital

जिल्लाको पाटन नगरपालिका– ६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका–६ का ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन–६ कै २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका–१ का १९ बर्षीय राजेन्द्र भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

यस्तै सोही प्रकरणमा आरोपित १७ बर्षीय नाबालकलाई बाल सुधार गृह डोटीमा पठाएको प्रहरी निरीक्षक पाण्डेयले बताए । आरोपित मध्ये भागरथी बिष्टलाई महिला कारागार डडेल्धुरा पठाइएको छ ।

बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचै जनामाथि असार २ गतेदेखि अनुसन्धान गरिरहेको थियो । उनीहरुमाथि तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको र अनुसन्धान सकिएपछि आरोपितहरुलाई अदालतमा पेश गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

अदालतले आरोप पुष्टी गर्ने प्रमाण परीक्षण तथा बयान गरेपछि आरोपितहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । यो घटनाका बिषयमा अदालतको फैसला आउन भने बाँकी रहेको छ । फैसला आएपछि कसलाई कति बर्ष, पिडीत पक्षलाई क्षर्तीपूर्ती लगायतका बिषय समावेश हुनेछन् ।

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव असार ३ गते दिउँसो पाटन नगरपालिका–६ स्थित घाङल खोलामा फेला परेको थियो । काठको चिरपटले हानेर बिरभानको हत्या गरेको ओरोपीले  प्रहरी समक्ष बयान दिएका छन् । 

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको अवस्थामा भेटीएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update