Sagun Khabar
बैतडी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

बैतडी–बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शनिबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो । 

बैतडी जिल्ला २०७२ साल असार ६ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपछि यसको निरन्तरता स्वरुप हरेक बर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ । राष्ट्रिय खोप तालिका अनुसार खोप पाउनुपर्ने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

Atrya hospital

बैतडीका ८४ ओटै वडा र १० ओटै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीमा चालु आर्थिक बर्षमा जन्मेदेखि १५ महिनाभित्रका ४ हजार ९५१ जना र १६ महिनादेखि ५९ महिनासम्म १५ हजार १६ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उनले बताए । 

बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्धका ९ ओटा खोपहरु निशुल्क दिने गरिएको छ । खोप अभियान अन्तर्गत खोप लगाउन छुटेका बालबालिकाहरुको समेत खोजी गरेर खोप लगाएपछि मात्रै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक खगेन्द्रसिंह धामी, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुरक्षा निकायका प्रमुख, १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुख एवं प्रतिनिधि, युनिसेफका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा १० ओटै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै प्रदेशस्तरीय खोप समन्वय समितिले पनि बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको प्रमाणपत्र प्रदान गरेको छ । 

जिल्लालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गर्ने अभियानमा सहयोग पुर्याउने प्रतिबद्धतासहित सरोकारवालाहरुले हस्ताक्षर गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । यस्तै पूर्ण खोप अभियानमा सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update