Sagun Khabar
एसईईमा बैतडीका १८ विद्यालयको नतिजा शून्य

बैतडी–माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीका १८ ओटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका १२८ सामुदायिक र ४ ओटा संस्थागत विद्यालयमध्ये १८ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । 

नतिजा अनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाभित्र रहेका ६ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ४, मेलौली नगरपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक÷एक विद्यालयको नतिजा शून्य आएको प्राविधिक सहायक भट्टले जानकारी दिए । 

सुर्नयाका राष्ट्रिय मावि फाटीगडा, नेपाल राष्ट्रिय मावि ग्वानी, सिगास मावि मुसे, केदार मावि कठमडा, कैलपाल मावि झाडबो र उदयदेव मावि पालीगडाको नतिजा शून्य आएको छ । 

Atrya hospital

यस्तै दशरथचन्द नगरपालिकाका गुरुकुल मावि सेरा, सरस्वती संस्कृत मावि नगतडी, शोभा मावि देउमडा र कैलपालेश्वर मावि ऐँचेकाँडाको नतिजा शून्य आएको छ । 

यस्तै मेलौली नगरपालिकाका केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा र भरतपुर मावि गाउँकोट नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक भट्टले बताए । 

यस्तै दोगडाकेदार गाउँपालिकाका रौलेश्वर मावि कफलकोट र चनैराज मावि बडियाको नतिजा शून्य आएको छ । 

यसैगरी पाटन नगरपालिकाको निलपालेश्वर मावि डङसिली, सिगास गाउँपालिकाको भुमेश्वर मावि थला र पञ्चेश्वर गाउँपालिकाको देवथला मावि बस्कुको नतिजा शून्य आएको भट्टले बताए । 

बैतडीबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा ३१दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । जिल्लाबाट एसईईमा सहभागी भएका ६८.५१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । एसईई परीक्षाका लागि ५ हजार ८७ जनाले फारम भरेकोमा ४ हजार ८ सय ९४ जनामात्रै परीक्षामा सहभागी भएका थिए । 

एसईई सहभागी भएकामध्ये १ हजार ५सय ४१ जनामात्रै उत्तीर्ण भएका सूचना अधिकारी शर्माले बताए । परीक्षामा सहभागी भएका ३ हजार ३५ जना अनुत्तीर्ण भएका उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update