Sagun Khabar
बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान 

बैतडी –बैतडीको पाटन नगरपालिकाभित्र रहेका तीनओटा स्वास्थ्य संस्थाहरुमा बेबी वार्मर मेसिन जडान गरिएको छ । नवजात शिशुलाई चिसोबाट बचाउनका लागि बेबी वार्मर मेसिन जडान गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएका ती मेसिनहरु वीस्ट फेलोन्थ्रोपी र गीभ पावर फाउण्डेसन नामक संस्थाको सहयोगमा जडान गरिएका पाटन नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन् । 

Atrya hospital

वडा नं ४ स्थित भुमेश्वर स्वास्थ्यचौकी, वडा नं ८ स्थित सिद्धेश्वर स्वासथ्यचौकी र वडा नं १० स्थित सिद्धपुर स्वास्थ्यचौकीमा मेसिन जडान गरिएका हुन् । राष्ट्रिय आविष्कार केन्द्रबाट आएका बायोटेक्निकल इन्जिनियरसहितको टीमले मेसिन जडान गरेको जनस्वास्थ्य निरीक्षक ऐरले बताए । 

आमाको गर्भबाट बच्चा जन्मेपछि तापक्रम नमिल्दा केही बच्चाहरुमा चिसोका कारण हाइपोथर्मिया हुने भएकाले त्यस्ता बच्चाहरुलाई जोगाउनका लागि बेबीवार्मर मेसिनले सहयोग गर्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । नवजात शिशुको मृत्युदर घटाउन यस्ता उपकरणहरुको महत्वपूर्ण योगदान रहने उनले बताए । 

चिसोको समयमा नवजात शिशुमा हाइपोथर्मियाको समस्या देखिने र मृत्युसम्म हुने भएकाले बेबीवार्मर मेसिनले त्यस्तो मृत्यु रोक्नका लागि सहयोग पुग्ने जनस्वास्थ्य निरीक्षक ऐरले बताइन् । 

स्वास्थ्य संस्थाहरुमा बेबीवार्मर मेसिन जडान भएपछि नवजात शिशुका लागि सहज हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update