Sagun Khabar
बैतडीमा ६४ प्रतिशत रोपाइँ सम्पन्न 

बैतडी–बैतडीमा ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो बर्ष समयमा बर्षा नहुँदा सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले जानकारी दिए । 

गत बर्ष असार १५ गतेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बैतडीमा यो बर्ष बर्षा नहुँदा ६४ प्रतिशतमात्रै रोपाँइ भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा रोपाइँ हुने र सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सम्पन्न भइसकेको सूचना अधिकारी कँडेलले बताए । उनले भने ‘अहिले सम्म जिल्लाभरी ६४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जानकारी आएको छ ।आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ हुन सकेको छैन् ।’

Atrya hospital

बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सक्ने भएपनि यो बर्ष बर्षा नहुँदा समस्या भएको उनले बताए । 

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको छ । पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा रोपाइँ हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कँडेलले बताए । 

धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रही आएको पाटन नगरपालिका ३ का भीमदत्त भट्टले बताए । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा किसानहरु पलायन हुने अवस्था सिर्जना भएको उनले बताए । 

जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । 

बैतडीमा पछिल्लो समयमा धान रोपाइँका लागि आधुनिक कृषि उपकरणको प्रयोग गर्ने गरिएको भएपनि धेरै ठाउँमा गोरुले जोत्ने गरिन्छ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update