Sagun Khabar
भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

बैतडी  –भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले शनिबार (आज) बिहान ६ बजे बाँध खोलेको हो । यसअघि एनएचपिसी लिमिटेडले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ बेलुका ६ बजेसम्म बाँध  खोल्ने जानकारी गराएको थियो । 

सोही जानकारीका आधारमा सीमा क्षेत्रमा रहेका नेपालका जिल्ला प्रशासनहरुले सूचना निकालेर महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपाउन आग्रह गरेका छन् । 

Atrya hospital

धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि बाँध खोलिएका महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदी किनारका बासिन्दाहरुलाई नदी नजिक नजान सूचनामार्फत आग्रह गरेको छ । 

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपाउन र नदी किनारमा नजान आग्रह गरेको छ । 

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सहज भएको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update