Sagun Khabar
सुर्नयाकी उपाध्यक्ष मञ्जु बोहरा भन्छिन् –‘ज्यान मार्ने धम्की आयो’

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । गाउँपालिकामै कार्यरत कर्मचारीले आफू बस्ने क्वाटरबाहिर आएर ज्यान मार्ने धम्की दिएको उनले आरोप लगाएकी हुन् ।

गाउँपालिकामै कार्यरत कर्मचारी मदिरा पिएर जनप्रतिनिधिकै कोठामा आएर धम्की दिँदा आफू असुरक्षित भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

यो बिषयमा बुझ्दा उनले बिहीबार शुरुमा गाउँपालिकाको रोजगार शाखामा कार्यरत सब इन्जिनियर लोकबहादुर विष्टले पशु स्वास्थ्य प्राविधिक उपेन्द्रकुमार शाहलाई धम्की दिएको बताइन् । धम्कीबाट आत्तिएका शाहले आफूलाई गुहार्दै फोन गरेको र त्यसपछि विष्टसहित अन्य व्यक्तिले आफ्नो कोठाबाहिर आएर पनि धम्की दिएको बताइन् । उनले भनिन् ‘हिजो राति पशु स्वास्थ्य शाखामा कार्यरत उपेन्द्रकुमार शाहले मलाई ज्यान मार्ने धम्की आयो मेडम, मलाई बचाउनुपर्यो भने मैले सुत्नु तपाँईलाई केही हुँदैन् भनेकी हुँ । फेरि राति साढे १२ बजेतिर रुँदै फोन गरेर मलाई मार्न कोठाको बाहिर आइसके म्याडम म के गरुँ भने । मैले त्यो बेला पनि चुकुल राम्रोसंग लगाएर बस्नोस भने । त्यसको १० मिनेटपछि मेरो ढोकामा आएर तपाँईको ज्यानको सुरक्षा छैन् भन्दै ढोकामा ढक्ढकाए ।’ 

Atrya hospital

बिहीबार राति पानी परेकाले मोबाइलको नेटवर्क नहुँदा आफूले कसैलाई फोन गर्न नसकेको बताइन् । आफू राति जोरले कराएपछि उनीहरु भागेको उनले बताइन् । 

बिहीबार दिउँसो आयोजना गरिएको मदिरा पार्टीमा सहभागी नभएकै कारण कर्मचारी शाहलाई धम्की दिएको उनले बताए । आफूले यो बिषयमा पालिका अध्यक्षलाई जानकारी गराइसकेको भएपनि केही सुनुवाई नभएको बताइन् । 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले भने यो बिषयमा बुझेर कुरा गर्ने बताए । 

Screenshot-Manju--1719574233.jpg
 

शाहलाई फोनबाट दिएको धम्कीको अडियो रेकर्ड पनि बाहिर आएको छ । उक्त रेकर्डमा विष्टले शाहलाई, ‘भोलि अप्ठेरो पर्ला । यो तपार्ईंको मधेश होइन सुर्नया हो कुरा सुन मु.. म देखाउँछु ’ भनेर आपत्तिजनक शब्द प्रयोग गरेका छन् ।

यो बिषयमा सब इन्जिनियर बिष्टले भने कर्मचारी शाहसंग सामान्य कुरा भएको र अहिले मिलिसकेको बताए । उपाध्यक्षले लेखेको स्टाटसका बारेमा सोध्दा उपाध्यक्षज्यूसंग आफूले कहिले त्यस्तो नभनेको बताए । उनले भने ‘उपाध्यक्षज्यूको कोठामा हामी गएकै छैनौं ।मसंग मदिरा नपिएका साथीहरु पनि थिए उनीहरुलाई बुझ्दा पनि हुन्छ ।’

यो बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले  कर्मचारीबीचको विवादका बिषयमा पीडित र पीडक दुवैलाई बसालेर सोधपुछ गरेको र पीडित कर्मचारीले अरु दुईजना कर्मचारीको नाम पनि भनेकाले उनीहरु आएपछि मात्रै यो बिषयमा थप छलफल हुने बताए ।  उपाध्यक्षलाई दिएको धम्कीका बिषयमा आफूलाई जानकारी नभएको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update