Sagun Khabar
मेलौलीका कर्मचारी आन्दोलित, वडा अध्यक्षले हातपात गरेको आरोप 

बैतडी–बैतडीको मेलौली नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । बिहीबार (आज) दिउँसो वडा अध्यक्षले कर्मचारीमाथि कुटपीट गरेको भन्दै अत्यावश्यक बाहेकका सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । 

वडा न. ९का अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत सहायक पाचौँ चक्रमणी जोशीमाथि कुटपीट गरेको कर्मचारीहरुको आरोप छ । 

Atrya hospital

नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आजैका मितिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन शुरु गरेका छन् । सुरक्षाको प्रत्याभूती हुनुपर्ने, काम गर्ने वातावरण हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने आफूहरुको माग रहेको कर्मचारीहरुले बताएका छन् । 

नगरपालिकामा देखिएको विवादका बिषयमा छलफल गरेर समाधानको प्रयास भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । दिउँसो वडा अध्यक्ष र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएपछि कामकाजमा बाधा पुगेको उनले बताए । उनले भने ‘नगर प्रमुख आज बाहिर हुनुहुन्छ । उहाँ भोलि फर्केपछि छलफल गरेर समस्याको समाधानतिर लाग्छौं । उपप्रमुखज्यूसहित अहिले पनि छलफल भइरहेको छ ।’

यता वडाअध्यक्ष लोकराज भट्टले भने दोहोरो हातपात भएको बताएका छन् । उनले वडाको बजेट वडाको सिफारिस बिनै किन खर्चेको भनि प्रश्न गर्दा कुर्सीबाट उठेर आएको र हातपातको स्थिती सिर्जना भएको बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update