Sagun Khabar
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश

काठमाण्डौ – अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर भेट्टायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडन मारक्रमले अविजितीय पारी खेल्दै टिमलाई जीत दिलाए । हेन्ड्रिक्सले २९ र मारक्रमले २३ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

Atrya hospital

यसअघि त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११ ओभर पाँच बलमा ५६ रनमा अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अक्षिण अफ्रिकाका लागि मार्को जेन्सेन र तबरेज शम्सीले समान तीन विकेट लिए । यस्तै कागिसो रबाडा र एन्ड्ररिच नटराजले समान दुई विकेट लिए । 

दक्षिण अफ्रिका सुपर–आठको समूह ’दुई’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई सात रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ‘डीएलएस’ अर्थात् डकवर्थ लुइस नियमका आधारमा तीन विकेटले हराएको थियो ।

यस्तै अफगानिस्तान सुपर–आठको समूह ’एक’ बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा आठ रनले हराएको थियो । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । यस्तै टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति सवा ८ बजे भारत र इङ्गल्यान्ड खेल्दैछन् ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update