Sagun Khabar
सुर्नयाले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ मा शैक्षिक सुधार कार्यक्रम अगाडि बढाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अभिभावक सचेतना कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने ‘सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अभिभावकहरुको महत्वपूर्ण भूमिका हुन्छ । यसमा अभिभावकहरुलाई सक्रिय बनाउन जरुरी रहेकाले हामीले यो कार्यक्रमको अवधारण ल्याएका हौं ।’

Atrya hospital

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर अभिभावकहरुसंग अन्तरक्रिया र छलफलका कार्यक्रम अघि बढाइने अध्यक्ष कुँवरले बताए । 

यस्तै आगामी आर्थिक बर्षमा पालिकाभरीका सामुदायिक विद्यालयमध्ये एक विद्यालयलाई नमूना विद्यालय घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै सुर्नया शैक्षिक व्यक्तित्व सम्मान कार्यक्रम सञ्चालन गर्ने नीति समेत गाउँपालिकाले लिएको छ । सुर्नया गाउँपालिकामा जन्मेर शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

यस्तै आधारभूत तह कक्षा ८ को परीक्षालाई पालिकास्तरीय परीक्षा बनाउने र सर्वोत्कृष्ट छात्रछात्राहरुलाई सम्मान गर्ने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update