Sagun Khabar
दनपाको बजेट ८८ करोड ४५ लाख 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ८८ करोड ४५ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार नगरसभामा उपप्रमुख कौशिला चन्दले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले प्रस्तुत गरे । नगरसभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट आजै पारित भएको नगरपालिकाका प्रवक्ता अजबबहादुर पाण्डेले जानकारी दिए । 

नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख जोशीले एक वडा एक नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने प्रत्येक वडामा जेष्ठ नागरिकसंग मेयर क्लिनिक सञ्चालन गर्ने घोषणा गरेका छन् । 

यस्तै चालु आर्थिक बर्षमै सञ्चालन गर्ने भनिएको नगर बसलाई आगामी आर्थिक बर्षमा सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि प्रशासनिक खर्चतर्फ ११ करोड २० लाख, नगरपालिका समपूरक अनुदानतर्फ ३ करोड, ११ ओटै वडाका लागि ३ करोड, आर्थिक विकासतर्फ ६५ लाख, सामाजिक विकासतर्फ ५ करोड २४ लाख ५० हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४० लाख र पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै संघीय सशर्ततर्फ ३७ करोड ६० लाख २ हजार, सामाजिक सुरक्षातर्फ २० करोड र नगर विकासतर्फ १ करोड बजेट विनियोजन गरेको प्रवक्ता पाण्डेले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update