Sagun Khabar
शिवनाथ गाउँपालिकाको बजेट ३५ करोड २३ लाख 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ३५ करोड २३ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

सोमबार गाउँसभाको १३ औं अधिवेशनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । संघीय अनुदानका आधारमा बजेट विनियोजन गरिएको उनले बताए । 
गाउँसभामा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष शकुन्तला साउँदले आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । सभामा गाउँपालिका प्रवक्ता केशवबहादुर चन्दले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । 

Atrya hospital

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयसंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

शिवनाथ गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणाका लागि आवश्यक बजेट र कार्यक्रम तय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । यस्तै लैंगिक हिंसामुक्त पालिका घोषणाका लागि पालिकाले पहल गर्ने उल्लेख गरिएको छ । 

नसर्ने रोगहरुको जोखिम बढ्दै गएकाले गाउँपालिकाबासीहरुको उपचारमा पहुँच पुर्याउन आगामी आर्थिक बर्षमा गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने प्रवक्ता चन्दले जानकारी दिए । यस्तै गाउँपालिकाको शर्मालीमा सञ्चालनमा आएको ग्रामप्रकाश बहुमुखी क्याम्पसको स्तरोन्नती गरिने उनले बताए । 

यस्तै एक वडा एक खेलमैदान कार्यक्रमलाई पालिकाले निरन्तरता दिने बताइएको छ । विगतमा सञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषि क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update