Sagun Khabar
मेलौली नगरपालिकाको अनुमानित बजेट ४९ करोड 

बैतडी–बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ४९ करोड बढीको अनुमानित बजेट नगरसभामा पेश गरेको छ । शनिबार १४ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख भीमबहादुर चन्दले आगामी आर्थिक बर्षका लागि ४९ करोड ५ लाख ९५ हजार बराबरको अनुमानित बजेट पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए । 

आगामी आर्थिक बर्षका लागि राजस्व बाँडफाँड संघतर्फ ९ करोड ४९ लाख, राजस्व बाँडफाँड प्रदेशतर्फ ४३ लाख ६८ हजार, बित्तीय समानीकरण अनुदान संघतर्फ ९ करोड १६ लाख, बित्तीय समानीकरण अनुदान प्रदेशतर्फ ७८ लाख ८६ हजार, सशर्त अनुदान संघतर्फ २४ करोड ४८ लाख ४१ हजार, बिशेष अनुदान संघतर्फ १ करोड, बिशेष अनुदान प्रदेशतर्फ ८५ लाख, समपूरक अनुदान प्रदेशतर्फ ९५ लाख, सडकबोर्ड नेपाल पूँजीगततर्फ ४० लाख र आन्तरिक आम्दानी ५० लाख रुपैयाँ अनुमानित बजेट बिनियोजन गरिएको छ । 

Atrya hospital

सभामा पेश भएको बजेटमाथि थप छलफल गरेर संशोधनसहित पारित हुने नगर प्रमुख चन्दले बताए । 

यस्तै यसअघि नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पनि पेश गरिएको छ । नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नीति तथा कार्यक्रम र बजेटमा आएका सुझावहरुलाई समेत समेटेर नगरसभाको अर्को बैठकले पारित गर्ने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update