Sagun Khabar
बिरभान हत्या प्रकरण : फरार रहेका आशिष पहरी पक्राउ 

बैतडी –बैतडीको पाटन नगरपालिका–६ घर भएका ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा फरार रहेका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

गएको आईतबार बिहान घरबाट भागेका पाटन नगरपालिका ६ का पुन्टु भनिने २६ बर्षीय आशिष पहरीलाई पाटन नगरपालिका–५ अर्तोला नजिकैको जंगलबाट बुधबार बिहान ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

Atrya hospital

भाग्दै गरेका उनलाई प्रहरी टोलीले पक्राउ गरेको हो । यो संगै बिरभान हत्यामा संलग्न रहेको आरोप लगाउँदै मृतकका आफन्तले किटानी जाहेरी दिएका पाँचै जना पक्राउ परिसकेका प्रहरी नायब उपरीक्षक गिरीले बताए । मृतकका आफन्तले मंगलबार ५ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेका थिए । 

बिरभानको हत्यामा संलग्न रहेको आरोपमा पाटन नगरपालिका ६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन ६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन १ का १९ बर्षीय राजेन्द्र भट्टराई र १७ बर्षीय किशोर भट्टराईलाई यसअघि नै पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका–६ स्थित घाङल खोलामा फेला परेको थियो । मृतक बिष्टको शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तले शव बुझ्न मानेका छैनन् । शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । 

सहस्त्रलिंग आधारभूत विद्यालय पाटन–६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । 

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update