Sagun Khabar
बिरभान हत्या प्रकरण : पाँच जना विरुद्ध किटानी जाहेरी दर्ता, म्याद थपेर अनुसन्धान गरिँदै 

बैतडी–बैतडीको पाटन नगरपालिका ६ घर भएका ५१ बर्षीय  ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । मृतकका आफन्तले मंगलबार पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् । 

किटानी जाहेरी दर्ता भएकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार रहेका छन् । 

Atrya hospital

पाटन नगरपालिका ६ की ३६ बर्षीया भागरथी बिष्ट, पाटन नगरपालिका ६ का भरतमोहन बिष्ट, पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । फरार रहेका एकजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । 

असार १ गते रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो । 

सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । 

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । 

फरार रहेका अर्का व्यक्तिको खोजीकार्य समेत जारी रहेको प्रहरीले जनाएको छ । असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update