Sagun Khabar
सुरक्षा अधिकारीद्वारा उरै नाकाको निरीक्षण 

बझाङ–चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । 

Atrya hospital

तीन दिन पैदल हिँडेर पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । 

टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए ।

आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update