Sagun Khabar
हावाहुरीले पाटन लिफ्ट खानेपानीको सोलार पाता उडायो, गणेशपुर गाउँमा खानेपानीको समस्या 

बैतडी–बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १ स्थित गणेशपुर टोलमा खानेपानीको समस्या भएको हो । 

शनिबार दिउँसो साढेचार बजेतिर आएको हावाहुरीले पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता उडाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए । हावाहुरीले पाटन नगरपालिका १ गेरुवापानीस्थित मूहानमा राखिएका सोलार पाता हावाहुरीले उडाएको हो । 

Atrya hospital

हावाहुरीले खानेपानीका सोलार पाता उडाएसंगै गणेशपुर गाउँमा जाने खानेपानी अवरुद्ध भएको छ । यस्तै ३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको खानेपानीका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए । 

हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको भट्टराईले बताए । हावाहुरीले सोलारका पाता उडाएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । 

पाटन लिफ्ट खानेपानी योजनामार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ । खानेपानी बन्द भएसंगै स्थानीयहरुलाई खानेपानीको जोहो गर्न सकस भएको पाटन नगरपालिका वडा नं १ का सचिव डम्मरदत्त पाण्डेयले बताए । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत गत असारमामात्रै सम्पन्न भएको योजनामा क्षति पुगेपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update