Sagun Khabar
४३ बुँदे घोषणपत्र जारी गर्दै सकियो डिलाशैनी शैक्षिक सम्मेलन 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । शिक्षा क्षेत्र सुधारका लागि ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए । 

यही जेठ १६ देखि १८ गतेसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न बिषयमा छलफल भएको शिक्षा शाखा प्रमुख भट्टले बताए । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिकाभरीका ५६ ओटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

सम्मेलनको पहिलो दिन विद्यालयहरुले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोश्रो दिन विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । कार्यक्रमको अन्तिम दिन शुक्रबार नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न भएको शिक्षा शाखा प्रमुख भट्टले बताए । 

सम्मेलनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि पहल गर्ने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि केही पहल गरेका छौं । यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार ल्याउने छ ।’

शैक्षिक सम्मेलनले सामुदायिक विद्यालयहरुलाई आफ्नो कार्ययोजनाअनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा विद्यालय सुधार योजना अनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवा खाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन लगायतका कुराहरु उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update