Sagun Khabar
सीमा बजार झुलाघाटमा खानेपानीको चरम समस्या 

बैतडी –भारतसंग जोडिएको बैतडीको सीमा बजार झुलाघाटमा खानेपानीको चरम समस्या भएको छ । झुलाघाट बजारमा आउने खानेपानीको मूहानमै पानी कम भएपछि खानेपानीको समस्या भएको हो । 

करीब १ किलोमिटरको दुरीमा रहेको मूहानबाट बजारमा खानेपानी ल्याइएको र मूहानमै खानेपानी कम हुँदा समस्या भएको सीमास्थित इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले जानकारी दिए । 

खानेपानीको मूहान व्यवस्थित नहुँदा झन् समस्या भएको उनले बताए । मूहानमा व्यवस्थापन नहुँदा पनि खानेपानीको चरम अभाव भएको छ । यो बर्ष सुख्खायाममा खानेपानीको निकै समस्या भएको व्यापारीहरुले बताएका छन् । 

Atrya hospital

झुलाघाट बजारमा पानीको अभाव भएपछि स्थानीय व्यापारीहरुलाई सरसफाइ गर्न र शौचालय प्रयोगमा समेत समस्या भएको छ । बजारमा आउने पानी निकै कम भएपछि समस्या भएको व्यापारीहरुको भनाइ छ । 

सीमा बजारमा झुलाघाटमा पानीको समस्या हुँदा त्यहाँ रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई समेत खानेपानीको जोहो गर्न निकै मुस्किल भएको छ । खानेपानी नहुँदा पानी किनेर खानुपर्ने बाध्यता रहेको महाकाली भन्सार कार्यालय झुलाघाटका लेखापाल देवराज रानाले बताए । उनले भने ‘झुलाघाटमा खानेपानीको निकै समस्या रहेको छ । पिउनका लागि किनेर प्रयोग गरेपनि शौचालय र अन्य सरसफाइ गर्न पानी जोहो गर्न निकै मुस्किल हुने गरेको छ ।’

बजारमा आउने खानेपानी कम आउँदा यताउताबाट बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता रही आएको इलाका प्रहरी कार्यालय झुलाघाटका प्रहरी नायब निरीक्षक धामीले बताए । 

झुलाघाटमा दैनिक सैयौं नागरिकले ओहोरदोहर गर्ने भएपनि खानेपानीको नहुँदा उनीहरुलाई समेत समस्या हुने गरेको छ । झुलाघाट बजारमा खानेपानीको व्यवस्थापनका लागि कसैको ध्यान नपुगेको व्यापारीहरुले गुनासो गरेका छन् । 

सीमा बजार क्षेत्रमा राज्यको ध्यान नपुगेको व्यापारीहरुको गुनासो रही आएको छ । 

झुलाघाटमा महाकाली भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय झुलाघाट, सीमा हेल्थ डेस्क लगायतका सरकारी कार्यालयहरु रहेका छन् । ती कार्यालयहरुमा खानेपानीको समस्या भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update