Sagun Khabar
डडेल्धुरामा बसपार्क निर्माण कार्य अघि बढ्ने

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण कार्य अघि बढ्ने भएको छ । 

जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटर टाढा रहेको डकलेमा व्यवस्थित बसपार्क बनाउने कार्य अगाडि बढ्ने भएको हो ।

Atrya hospital

बसपार्क निर्माणका लागि यसअघि वनको अवरोध रहेकोमा उक्त अवरोध हटेको अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले बताए ।

डकलेक क्षेत्रमा रहेका रुख काट्नका लागि मन्त्रीपरिषद्ले अनुमति दिने निर्णय गरेसंगै बसपार्क निर्माण कार्य अघि बढ्ने भएको हो । 

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जेठमा बोलपत्र आह्वान गरेको थियो । १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान भएकोमा घटाघटमा साढे १३ करोडमा ठेक्का स्विकृत भएको छ ।

१८ महिनामा काम सम्पन्न हुने गरि सदर भएको ठेक्का कालिका–मालिका–युपी जेभिले पाएको थियो । तर, बसपार्क निर्माणमा वनको अवरोध खडा भएपछि सम्झौता गरिएको थिएन ।

बसपार्क निर्माण हुने क्षेत्र सराउलीका घाणा सामुदायिक वन क्षेत्रमा पर्छ । बसपार्क निर्माणका लागि उक्त सामुदायिक वनले ०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update