Sagun Khabar
बैतडीमा मन्दिरको सुन चोरी प्रकरण : ६ महिनापछि ५ जना प्रहरी नियन्त्रणमा 

बैतडी –बैतडीको एक मन्दिरमा सुन चोरी भएको ६ महिनापछि सुन चोरी कार्यमा संलग्न भएका व्यक्तिहरु पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पौषमा चोरी भएको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको हो । मन्दिरको सुन चोरेको सम्बन्धमा गत चैतमा मन्दिरका पूजारी नैनराम सार्कीले थाहा पाएपछि सुन चोरी कार्यमा संलग्नहरुको खोजी शुरु गरिएको थियो । 

शुरुमा स्थानीयस्तरमै सुन चोरी कार्यमा संलग्नहरुलाई गाउँलेले खोजी गरेका र असार अन्तिम साता प्रहरीलाई खबर गरेपछि ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । शुरुमा दुईजनालाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरुको बयानका आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । 

Atrya hospital

प्रहरीले पक्राउ गरेकाहरुबाट पौने चारतोला सुन समेत बरामद गरेको छ । शुरुमा स्थानीयहरुले दिएको निवेदनका आधारमा दोगडाकेदार गाउँपालिका १ रीमका २० बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए । 

यस्तै मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बिना बिल सुन खरीद पाइदैन् । यो गैरकानुनी कार्य हो । त्यसमा पनि मन्दिरको चोरी गरेको सुन खरीद गरेको पाइपछि साहुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’प्रहरी निरीक्षक शाहीले भने 

मन्दिरको सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य पनि संलग्न रहेको बुझिएको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

मन्दिरका पूजारीले मन्दिरमा ९ तोला सुन रहेको भनेपनि पक्राउ गरेकाहरुबाट पौने चारतोला मात्रै बरामद भएको छ । अन्य सुन कहाँ गयो भन्ने बिषयमा पनि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update