Sagun Khabar
पत्रकार महासंघ बैतडीका संस्थापक सदस्य थापाको निधन 

बैतडी–नेपाल पत्रकार महासंघ बैतडीका संस्थापक सदस्य एवं पुराना पत्रकार जितसिंह थापाको निधन भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ त्रिपुरा घर भएका थापाको बुधबार साँझ ७३ बर्षको उमेरमा निधन भएको उनका आफन्त गणेशसिंह थापाले बताए । 

भारतीय सेनाबाट सेवा निवृत भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा लागेका थिए । २०५९ सालमा नेपाल पत्रकार महासंघको बैतडी–दार्चुला शाखाको संस्थापक सदस्य भएर उनले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको बरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्वपूर्ण योगदान रहेको पाण्डेयले बताए ।

Atrya hospital

भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा थापाले रिपोर्टिङको काम गरेको पत्रकार गोकर्ण दयालले बताए । पत्रकारिताको क्षेत्रको खासै विकास हुन नसकेका बेला थापाले लोभलाग्दो पत्रकारिता गरेको उनको भनाइ छ । 

नेपाल प्रेस युनियनका सदस्य समेत रहेका थापाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको पत्रकारहरुले बताएका छन् । 

तत्कालिन समयममा पत्रकार थापाको लेखाइ निकै काइदाको हुने गरेको पत्रकार राजेन्द्र नाथले बताए । थापाको निधनपछि नाथले सामाजिक सञ्जालमा लेख्दै थापा सधैं सम्झनामा रहीरहने उल्लेख गरेका छन् । 

२०४८ सालको निर्वाचनपछि थापा तत्कालिन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएका थिए । पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधबार साँझ आफ्नै निवासमा निधन भएको हो । 

स्वर्गीय पत्रकार थापाका ३ छोरामध्ये एक छोराको गत बर्ष दुर्घटनमा निधन भइसकेको छ । अहिले उनका दुई छोरा, एक छोरी र श्रीमति रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update