Sagun Khabar
सतबाँझ–श्रीभावर सडक : थप १४ किलोमिटर कालोपत्रेको काम शुरु 

बैतडी –बैतडीमा प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडक अन्तर्गत थप १४ किलोमिटर कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सतबाँझदेखि ६ किलोमिटरसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको र त्यो भन्दा अगाडि थप १४किलोमिटर कालोपत्रे गर्ने कार्य शुरु भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए । 

सडक कालोपत्रे गर्ने कार्यको बुधबार एक कार्यक्रमकाबीच सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर उद्दघाटन गरेका छन् । सडक कालोपत्रे गर्ने कार्यको उद्दघाटन गर्दै अध्यक्ष कुँवरले सतबाँझ–श्रीभावर सडक सुर्नया गाउँपालिकाको लाइफलाइनको रुपमा रहेको बताए । यो सडक कालोपत्रे भएपछि गाउँपालिकाबासीको जीवन सहज हुने उनले बताए ।

Atrya hospital

सतबाँझ–श्रीभावर सडक अन्तर्गत थप १४ किलोमिटर कालोपत्रे गर्नका लागि सिद्धबाबा कन्सट्रक्सनसंग भ्याट बाहेक ४२ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी जोशीले बताए । ३६ महिनाभित्र काम गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसंग सम्झौता भएको उनले बताए । 

पूर्वाधार विकास कार्यालयसंग सम्झौता गरेर निर्माण कम्पनीले कालोपत्रेका लागि काम अघि बढाएको हो । सुर्नया गाउँपालिकाको वडा नं ५ स्थित कठेगौंडासम्म यो ठेक्का अन्तर्गत सडक कालोपत्रे हुने बताइएको छ । 

कठेगौंडादेखि ढोल्यामोडसम्मको २० किलोमिटरमा स्तरोन्नतीको काम चलिरहेको सूचना अधिकारी जोशीले बताए । उक्त खण्डमा ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने काम समेत भइरहेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकलाई प्रदेश गौरवको योजनाको रुपमा राखेको छ । यो सडकले पूर्णता पाएमा बैतडी सदरमुकाम जोड्ने छोटो मार्गको रुपमा सञ्चालन हुनेछ भने भारतसंगको सीमा नाका जोड्ने छोटो मार्गको रुपमा समेत यो सडक सञ्चालन हुनेछ । 


 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update