Sagun Khabar
बैतडीमा ट्रकसहित भन्सार छलीका सामग्री बरामद

बैतडी–बैतडीमा प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ३ लामालेकमा भन्सार छलीका सामग्रीसहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीबाट पाटनतर्फ आइरहेको से १ ख २०१४ नम्बरको ट्रकमा चेकजाँच गर्दा भन्सार छलीका सामग्री बरामद गरिएको उनले बताए । बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले चार लाख ८ हजार ४ सय ४० रुपैयाँ बराबरको भन्सार छलीको सामग्री र १५ लाख रुपैयाँ बराबरको ट्रकसहित १९ लाख ८ हजार ४ सय ४० रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको छ । 

Atrya hospital

बुधबार बिहान ३ बजेको समयमा उक्त सामग्री, ट्रक र ट्रक चालक पाटन नगरपालिका ८ का ४५ बर्षीय गणेश मडैलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जोशीले बताए । 

भन्सार छलीको सामग्रीसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ । उक्त सामग्री भारतबाट भन्सार छलेर ल्याएको प्रहरी निरीक्षक जोशीले बताए । 

यसअघि सोमबार राति पनि बैतडी प्रहरीले भन्सार छलीका सामग्रीसहितको जिपलाई नियन्त्रणमा लिएको थियो । जिपसहित साढे १० लाखको सामग्री आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update