
बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले गत आइतबार वडा कार्यालयमा ताला लगाएका थिए ।
उक्त ताला बन्दी बुधवार दिउँसो वडा अध्यक्ष रामचन्द्र ऐर लगायतका वडाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको रोहोबरमा खुलेको थियो। तर केहि घण्टा नबित्दै फेरी वडा कार्यालयमा तालाबन्दी गरिएको छ । आफु संग कुनै छलफल र संवाद बिना ताला खोलिएको प्रति आपत्ती जनाउदै संघर्ष समितिले वडा कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् ।
सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै स्थानीयहरु आन्दोलति छन् । सडक निर्माणका बिषयमा कुनै ठोस पहल नभएकाले फेरि वडा कार्यालयमा ताला लगाउन बाध्य भएका संघर्ष समिति संयोजक पवन चन्दले बताए । वडा अध्यक्षले पावर र पहँुच देखाएर विना छलफल ताला तोडेपछि पुनः ताला लगाइएको उनले बताए ।
संघर्ष समिति संग कुनै छलफल नगरि ताला खोलिएको प्रति आक्रोस व्यक्त गर्दै आन्दोलनकारीहरुले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बाटोको माग सम्बोधन नहुँदा सम्म आन्दोलन जारी रहने उनिहरुको भनाई छ । वडाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको रोहोबरमा दिउंसो ताला खोलिएको र पछि गरिएको तालाबन्दी बारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्द राज जोशीले जानकारी दिए ।