Sagun Khabar
बैतडीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु 

बैतडी –बैतडीमा आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत बैतडीमा पनि आजदेखि अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

जिल्लाका पाँचओटा पालिकामा आजदेखि अभियान सञ्चालन भएको छ भने पाँचओटा पालिकामा भोलि (बिहीबार)देखि अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

खोप अभियानका लागि जिल्लाभरी ७ सयभन्दा बढी स्वयंसेवक खटिएका छन् भने ३ सय ६० जना स्वास्थ्यकर्मी खटिएका छन् । 

Atrya hospital

आज फागुन २१ गतेसम्म जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।  

यस्तै भोलि (बिहीबार)देखि फागुन २२ गतेसम्म जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

बैतडीमा ९ महिनादेखि ५ बर्षसम्मका २१ हजार ३ सय २४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सुरक्षित भएकाले निर्धक्क भएर तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

दादुरा–रुबेला खोप नलगाएमा बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण हुने भएकाले यो खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कुनै बालबालिकामा दादुरा–रुबेला संक्रमण भएमा एकजनाले १८ जनालाई संक्रमण गर्न सक्ने भएकाले यो रोगबाट बच्नका लागि अनिवार्य रुपमा खोप लगाउनुपर्ने हुन्छ । 

बच्चा जन्मेको ९ महिना र १५ महिनापछि दादुरा–रुबेला विरुद्धको खोप दिने गरिन्छ । उक्त खोप लगाएका बालबालिकाहरुलाई पनि अभियान अन्तर्गत खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । खोप लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड समेत बोक्न आग्रह गरिएको छ । 

यसैबीच बुधबार एक कार्यक्रमकाबीच दादुरा–रुबेला खोप अभियानको शुभारम्भ गरिएको छ । पाटन नगरपालिका ९स्थित किचार खोप केन्द्रमा अभियानको शुभारम्भ गरिएको हो । उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिसस प्रमुख खगेन्द्रसिंह धामीको समेत उपस्थिती रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टले बताए । 


 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update