बैतडी–बैतडीको पाटन नगरपालिकाले भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गर्ने भएको छ । गतविगतजस्तै यो बर्ष पनि नगरक्षेत्रबाट रोजगारीका लागि भारत गएका र जाने कामदारहरुको दुर्घटना बीमा गरिने नगरपालिकाले जनाएको छ ।
दुर्घटना बीमाका लागि दुईओटा बीमा कम्पनी छनौट भइसकेका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले बताए ।
भारतमा जाने कामदारको दुर्घटना बीमा कार्यक्रमका लागि रुडेस बैतडी, नगरपालिका र बीमा कम्पनीहरुसंग त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यका लागि हिमालयन बीमा कम्पनी र आइएमइ बीमा कम्पनी छनौट भएका छन् ।
भारतमा जाने कामदारको दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनका लागि यही फागुन २१ गतेदेखि वडा कार्यालयहरुमा कागजपत्र संकलन गरिनेछ । कामदारहरुको निशुल्क बीमा गरिने भएकाले रोजगारीका लागि भारत गएका र जाने परिवारका सदस्यहरुलाई बीमामा आवद्ध हुन आग्रह गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
हिमालयन बीमा कम्पनीले वडा नं १ देखि ६ सम्मका नागरिकको बीमा गर्नेछ भने आइएमइ बीमा कम्पनीले वडा नं ७ देखि १० सम्मका नागरिकको बीमा गर्नेछ ।
रोजगारीका लागि भारतमा जाने आप्रवासी कामदारहरुको बीमा नहुँदा विभिन्न किसिमका जोखिम हुने भएकाले जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
भारतमा जाने आप्रवासी कामदारको लागि आवश्यक कागजपत्र संकलन गर्नका लागि फागुन २१ गते वडा नं १ र ७ मा कर्मचारी खटिनेछन् । यस्तै फागुन २२ गते वडा नं २ र ८,फागुन २३ गते वडा ३ र ९, फागुन २४ गते वडा नं ४ र १०, फागुन २७ गते वडा नं ५ र फागुन २९ गते वडा नं ६ मा कर्मचारी खटिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।





