बैतडी- बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए ।
समितिले वडा नम्बर १ का स्थानियहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ । उनीहरुले फागुन ८ गते बिहानै देखी दुदिलाखान– गाँजरी र बिन्द्रावन– वडा कार्यालय जोड्ने सडक पुर्ण अवरुद्ध पारेका छन् । त्यस लगत्तै फागुन ९ गते जिल्लाबाट प्राविधिकहरुको टोली स्थलगत अनुगमनका लागि गएको थियो । संघर्ष समितिले जान नदिएको भन्दै प्राविधिक टोलि दुदिलाखानबाट फर्किएको थियो । तर संघर्ष समितिले भने सडक बन्द भएकाले गाडीसहित जान नमिल्ने र पैदल जान आग्रह गरेपनि प्राविधिक टोली फर्किएको बताएको छ ।सडक निर्माणका बिषयमा कुनै ठोस पहल नभएकाले फेरि सडक अवरुद्ध संगै वडा कार्यालयमा ताला लगाउन बाध्य भएर संघर्षमा उत्रिनुपरेको संयोजक चन्दले बताए ।
दुदिलाखान गाँजरी धौलाडी काठा हुँदै गर्जे पुग्ने सडक पहिले अघि बढ्नुपर्ने सिगास गाउँपालिका २ का केही स्थानियहरुको माग छ भने दुवै सडकहरु संगै अघि बढ्नुपर्ने संघर्ष समितिले अडान राख्दै आएको थियो । यसअघि सिगास गाउँपालिकाको केन्द्र गर्जे सम्म सडक निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय र सुरक्षा निकायका प्रतिनिधिहरुले गत माघ १५ मा स्थलगत अवलोकन गरेका थिए ।




