बैतडी –बैतडीमा सञ्चालन हुने दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तर्गत सुर्नया गाउँपालिकामा ३६ ओटा खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।
गाउँपालिकामा बिहीबार सरोकारवालाहरुसंग अन्तरक्रियाको आयोजना गरेर पालिकाभरीका ३६ ओटा खोप केन्द्रमार्फत खोप दिइने जानकारी दिइएको हो ।
सुर्नयामा फागुन १७ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । अभियानका लागि ३६ जना खोप कार्यकर्ता र ७२ जना स्वयंसेवक खटाउने तयारी छ ।
सुर्नयामा ९ महिनादेखि ५ बर्षमुनिका १ हजार ६ सय २४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
खोप अभियानलाई प्रभावकारी बनाउनका लागि आज गाउँपालिका जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसंग छलफल गरिएको उनले बताए । एकजनामा दादुरा–रुबेलाको संक्रमण भएमा १८ जनासम्म संक्रमण हुन सक्ने सम्भावना भएकाले दादुरा–रुबेला हुन नदिन खोप लगाउनुपर्नेमा उनले जोड दिए ।
बैतडीमा यो अभियानमा फागुन १६ गतेदेखि शुरु हुँदैछ । जिल्लाभरी ९ महिनादेखि ५ वर्षमुनिका २१हजार ३२४ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।




