Sagun Khabar
नेपाल राष्ट्रिय माविलाई सुर्नयाले उपलब्ध गरायो शैक्षिक सामग्री 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका –२ सिउडेस्थित नेपाल राष्ट्रिय मावि ग्वानीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । सुर्नया गाउँपालिकाले विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो । 

गाउँपालिकाले विद्यालयलाई १० ओटा ह्वाइट बोर्ड,मार्कर लगायतका शैक्षिक सामग्री बिहीबार हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । अनुगमनका क्रममा विद्यालयमा शैक्षिक सामग्रीको अभाव देखिएकाले गाउँपालिकाकातर्फबाट शैक्षिक सामग्री उपलब्ध गराइएको उनले बताए । 

कक्षा १२ सम्मको पढाई हुने नेपाल राष्ट्रिय मावि ग्वानीमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कुँवरले शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताए । अनुगमनका क्रममा समस्या देखिएका विद्यालयहरुको समस्या समाधानका लागि पालिकाले पहल गरिरहेको उनले बताए । 

गाउँपालिकाले हस्तान्तरण गरेका शैक्षिक सामग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्र बिष्टले शैक्षिक सामग्री उपलब्ध भएपछि पठनपाठन कार्यमा सहज हुने बताए । 

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरका साथै सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट, वडा नं ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक केशव बिष्ट, सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थी लगायतको उपस्थिती रहेको थियो । 

यसअघि उक्त विद्यालयलाई सुर्नया २ कै स्थानीय विनोद बिष्टले पनि ह्वाइट बोर्ड उपलब्ध गराएका थिए । रोजगारीको सिलसिलामा भारतको हैदरावादमा रहेका बिष्टले विद्यालयमा ह्वाइट बोर्ड अभाव भएको जानकारी आएपछि सहयोग गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update