Sagun Khabar
दशरथचन्द नगरपालिकाका १२ विद्यालयमा ‘विद्यालय नर्स’कार्यक्रम सञ्चालन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका १२ ओटा सामुदायिक विद्यालयहरुमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि ७ जना स्टाफ नर्स नियुक्त गरेर कार्यक्षेत्रमा पठाइसकेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । 

नगरपालिकाका सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘विद्यालय नर्स’कार्यक्रम अन्तर्गत विद्यालयहरुमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुने जोशीले बताए । 

स्टाफ नर्सहरुले विद्यालयमै पुगेर बालविवाह न्यूनीकरण, पोषण, सरसफाइ लगायतका क्षेत्रमा जानकारी दिने उनले बताए । यस्तै विद्यालयहरुमा आकस्मिक उपचारमा समेत नर्सहरु खटिने जोशीले बताए । 
१२ ओटा विद्यालयमा खटिने नर्सहरुलाई नगरपालिकाले नियुक्त पत्र दिएर कार्यक्षेत्रमा खटाइसकेको जोशीले बताए । 

नगरपालिकाको वडा नं १ स्थित मणिलेक मावि गुरुखोला र नेपाल राष्ट्रिय मावि पालीमा कार्यक्रम सञ्चालन हुनेछ । 

यस्तै वडा नं २ स्थित निङ्गलाशैनी मावि देहीमाण्डौं, वडा नं ४ स्थित विरेन्द्र मावि शाहीलेक, वडा नं ५ स्थित दशरथचन्द मावि सुन्दरखाली, वडा नं ७ स्थित कैलपालेश्वर मावि ऐँचेकाँडा र केदारशीला मावि सुर्कालमा कार्यक्रम सञ्चालन हुनेछ । 

यस्तै वडा नं ८ स्थित जगदम्बा मावि रानीबुंगा, वडा नं ९ स्थित जोशीबुंगा मावि लमौता र केदार मावि लोडासौं कार्यक्रम सञ्चालन हुनेछ । यस्तै वडा नं ११ स्थित केदार नागार्जुन मावि बगलेखान र नागार्चन मावि बर्तोलीमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 

विद्यालय नर्स कार्यक्रममार्फत सामुदायिक विद्यालयहरुमा परिवर्तन ल्याउन खोजिएको बताउँदै नगर प्रमुख पुष्करराज जोशीले स्टाफ नर्सहरुलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । विद्यालय नर्स कार्यक्रमका लागि छनौट भएका स्टाफ नर्सहरुलाई नियुक्ती पत्र प्रदान गर्दै उनले पालिकाले लिएको लक्ष्य प्राप्तिमा सदैव ध्यान दिनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update