बैतडी –बैतडीको दशरथचन्द नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा विस्तार गरिएको छ । नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट विस्तारका लागि उपकरण हस्तान्तरण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
नगरपालिकाका ११ वडाभित्र १६ ओटा स्वास्थ्य संस्था रहेका र ती सबैमा इन्टरनेटको पहुँच पुर्याउन मंगलबार एक कार्यक्रमको आयोजना गरेर उपकरण हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । नगर प्रमुख पुष्करराज जोशी र प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीले स्वास्थ्य संस्थाका प्रमुखहरुलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य संस्थाहरुले मासिक रुपमा अनलाइनमार्फत पठाउने रिपोट पठाउन अब सहज हुने भएको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले सम्पादन गरेका कामहरुको रिपोर्टिङ अनलाइनमार्फत पठाउनका लागि इन्टरनेट विस्तार गरिएको हो ।
स्वास्थ्य संस्थाहरुले मासिक रुपमा डिएचआइस –२ र इएलएमआइएस रिपोट अनलाइनमार्फत पठाउने गरेका छन् । इन्टरनेटको पहुँच नहुँदा त्यस्ता रिपोट पठाउन समस्या हुने गरेको थियो । नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट विस्तारका लागि उपकरण उपलब्ध गराएपछि अब त्यो समस्या नहुने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।




