Sagun Khabar
हानिकारक प्रचलन हटाउन सक्रिय सशक्तीकरण केन्द्र 

बैतडी –बैतडीमा गठन भएका महिला सशक्तीकरण केन्द्रहरु समाजमा विद्यमान हानिकारक प्रचलन हटाउन सक्रिय भएका छन् । जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा गठन भएका महिला सशक्तीकरण केन्द्रहरुले हानिकारक प्रचलन हटाउनका लागि सक्रियता देखाएका हुन् । 

अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरेको ग्रीन परियोजना अन्तर्गत गठन भएका महिला सशक्तीकरण केन्द्रहरुले हानिकारक प्रचलन हटाउनका लागि समूहमार्फत पहल गर्ने गरेको सहजकर्ता ललिता भुलले बताइन् । 

Atrya hospital

पाटन नगरपालिकाका विभिन्न वडामा १० ओटा महिला सशक्तीकरण केन्द्रहरु सञ्चालनमा रहेका र ती केन्द्रहरुमा साप्ताहिक रुपमा कक्षा समेत सञ्चालन हुने गरेको भुलले बताइन् । 

महिला सशक्तीकरण केन्द्रहरुले बालविवाह न्यूनीकरण, सामाजिक विभेद न्यूनीकरण, महिनावारी भएको बेला गरिने भेदभाव न्यूनीकरणका लागि पहल गर्ने गरेको पाटन नगरपालिका ६ की अनिता जोशी भट्टले बताइन् । उनले भनिन् ‘सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरु आफ्ना हक अधिकारका बिषयमा पनि जागरुक भएका छन् । समाजमा विद्यमान गलत प्रचलन हटाउन पनि सक्रिय रहेका छन् ।’

महिला सशक्तीकरण केन्द्रमा बालविवाहले पार्ने असर र यसलाई न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बिषयमा समेत छलफल हुने गरेको अर्की सहजकर्ता पार्वती भाटले बताइन् । उनले भनिन् ‘महिला सशक्तीकरण केन्द्रहरुमा बालविवाह न्यूनीकरणका बिषयमा पनि छलफल हुने गरेको छ ।’

सशक्तीकरण केन्द्रमा समाजमा रहेका विभिन्न कुप्रथाहरु हटाउने बिषयमा छलफल गर्ने गरिएको केन्द्रकी सहभागी डम्मरी भाटले बताइन् । उनले भनिन् ‘हामीले सशक्तीकरण केन्द्रमा विभिन्न बिषयमा छलफल गर्ने गरेका छौं । यसले हामीहरुलाई सामूहिक रुपमा काम गर्न सहज भएको छ ।’

महिलाहरुलाई आफ्ना हकअधिकारका बिषयमा जागरुक बनाउन र उनीहरुको क्षमता अभिवृद्धिका लागि महिला सशक्तीकरण केन्द्र सञ्चालनमा रहेका रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update